Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
घाइतेहरु र अपाङ्गहरुको सहयोगको लागि एनआरएन यूकेले च्यारिटी गर्ने NRNAUK skip to Main Content
घाइतेहरु र अपाङ्गहरुको सहयोगको लागि एनआरएन यूकेले च्यारिटी गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले घाइतेहरु र अपाङ्गहरुको  सहयोगका लागि एक बृहद च्यारिटी कार्यक्रम गर्ने भएको छ । एनआरएन यूके च्यारिटी विभागको आयोजनामा आउदो सेप्टेम्बर महिनाको १ तारिखका दिन अल्डर्सटको एम्पायर हलमा ’डिसाबिलीटी एड च्यारिटी’ कार्यक्रम हुने भएको हो ।

शुक्रबार सांझ अल्डर्सटस्थित भेटघाट रेस्टुरेण्टमा एक पत्रकार सम्मेलन गर्दै एनआरएन यूकेले उक्त कार्यक्रमबारे जानकारी गराएको हो । गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित ग्यालन्ट्री क्रस बाट सम्मानित गोर्खा सैनिक दिपप्रसाद पुनलाई विशेष अतिथीका रुपमा उक्त कार्यक्रममा सहभागी गराउने तयारी गरिएको छ । विभिन्न शारीरिक अपांगता भएर पनि समाजमा उदाहरणीय योगदान पुर्याउन सफल आधा दर्जन बढि विशेष प्रतिभाहरुले सो कार्यक्रममा प्रस्तुतिहरु देखाउनेछन् ।

एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना कार्यक्रमका लागि नेपालबाट बेलायत आउने भएकी छन् । त्यस्तै, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, अनिल गुरुङ, नेत्र राना, कौशल लिम्बू र शिव थजालीले कार्यक्रममा आफ्नो प्रतिभाहरु देखाउनेछन् । त्यसैगरी, पछिल्लो सामाजिक कामहरुमा क्रियाशिल कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरीको प्रस्तुति पनि कार्यक्रममा रहनेछ ।

च्यारिटी कार्यक्रमका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटी कार्यक्रमबाट अपांगता भएकाहरुको सहयोगका लागि कोष संकलन गर्नुका साथै शारीरिक अपांगता भएर पनि आफ्नो विशेष कला र प्रतिभाको माध्यमबाट समाजमा उदाहरण प्रस्तुत गर्न सफल पात्रहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्य राखिएको बताए । कार्यक्रमबाट संकलन हुने कोष नेपाल तथा बेलायतमा अपाङ्गता भएकाहरुको लागि सहयोग गरिने जानकारी संयोजक गाहामगरले दिए ।

पत्रकार सम्मेलनमा एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले एनआरएन यूके गैरआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा समाजका हरेक तप्कासंग पुग्ने क्रममा यो कार्यक्रमबाट समाजका फरक क्षमता भएका पात्रहरुलाई हौसला र सम्मान गर्न लागिएको बताए । अध्यक्ष फगामीले च्यारिटी कार्यक्रमबाट कति रकम सहयोग गरिन्छ भन्दा पनि फरक क्षमता भएकाहरुको विशेष प्रतिभा र कलाको सम्मान तथा प्रोत्साहन बढि महत्वपुर्ण हुने भएकाले सोहिअनुसार कार्यक्रम गर्न लागिएको बताए । उपाध्यक्ष शेर सुनारले अपांगता भएर पनि समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नेहरुको सम्मानका लागि एनआरएन यूके सदैव तयार रहने भन्दै उनीहरुलाई प्रोत्साहन गर्न आयोजना हुने कार्यक्रम सफल बनाउन सबैमा अपील गरे । एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले यो कार्यक्रम समाजको लागि एउटा नयां र सकारात्मक सुरुआतको उदाहरण बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमबाट कति पैसा उठ्ने भन्दा पनि कुन अवधारणा र लक्ष्यमा कार्यक्रम गरिदैछ भन्ने विषयले बढि महत्व राख्ने उनको धारणा थियो । च्यारिटी कार्यक्रममा विशेष प्रस्तुति गर्ने हरि बुढा मगर, विनोद बुढाथोकी, नेत्र राना, शिव थजाली र अमृता गिरीले सेप्टेम्बर १ को कार्यक्रम समाजको लागि विशेष र प्रेरणादायक बन्ने भन्दै सहभागिताको लागि समुदायलाई आग्रह गरे । शारीरिक रुपमा असमान हुंदैमा व्यक्ति मानसिक तथा अन्य सबै हिसाबले पनि कमजोर नै हुन्छ भन्ने सोंच गलत छ भनेर कार्यक्रमले प्रमाणित गरिदिने उनीहरुको दाबी छ । यो कार्यक्रमबाट हामीले कुनै सहयोगको अपेक्षा गरेका छैनौं, हामी त हाम्रो कला, प्रतिभा देखाएर तपाईलाई र समाजलाई सहयोग गर्न चाहन्छौं, कार्यक्रममा सहभागिताको लागि अपील गर्दै उनीहरुले एक स्वरमा भने , यो कार्यक्रमले कति कोष संकलन गर्छ, कति सहयोग हुन्छ भन्ने महत्वपुर्ण होइन । यस्ता कार्यक्रमको सुरुआत महत्वपुर्ण कुरा हो । त्यसैले यस कार्यक्रमलाई सफल पार्न तपाईहरुको सहयोग, साथ पाउनेछौं भन्ने हामीले आशा गरेका छौं । कार्यक्रममा सहारा यूके अध्यक्ष मिन साईंला गुरुङ, यति एशोसिएसन महासचिव तथा पत्रकार बाचस्पति रेग्मी, एनआरएन यूके धर्म विभाग प्रमुख होमनाथ पौडेल, सिता भण्डारी, प्रिमा भट्टराई, गिता बस्नेत लगायतले राम्रो उद्धेश्यका साथ कार्यक्रम हुन लागेको भन्दै सफलताको शुभकामना दिएका थिए ।

६ सय जना सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमबाट झण्डै १४ हजार पाउण्डको कोष संकलन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागिताको लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।

error: Content is protected !!
Back To Top